RayNewsDaily
नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा
  • भृकुटीमण्डपमा आजदेखि नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु ।
  • ५५ ब्रान्डका ४० भन्दा बढी मोडल प्रदर्शनी तथा सार्वजनिक गरिँदै ।
  • एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुने ।

रे समाचार/काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पोको उद्घाटन गर्नुभयो ।

एक्स्पोमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी ५५ ब्रान्डका ४० भन्दा बढी नयाँ मोडल प्रदर्शनी तथा सार्वजनिक गरिँदै छन् । साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा चारपाङ्ग्रे सवारीसाधनका २९ र दुईपाङ्ग्रे सवारीसाधनका १८ नयाँ ब्रान्ड सार्वजनिक गरिने नाइमाले जनाएको छ ।

naima2-1786437766.jpeg
एक्स्पो उद्घाटन गर्दै महानिरीक्षक कार्कीले आर्थिक विकासका लागि यातायात तथा मोबिलिटी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र सवारी अनुशासनमा ध्यान दिँदै नियामक निकाय र सरोकारवालाबीच समन्वय तथा सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

नाइमाकी अध्यक्ष वैद्यले एउटै छानामुनि विभिन्न ब्रान्ड र मोडलका सवारीसाधन प्रदर्शनीमा राखिएको बताउनुभयो । एक्स्पोले नेपालको यातायात तथा मोबिलिटी क्षेत्रको विकासमा योगदान पुर्‍याउने उहाँको विश्वास छ ।

naima3-1786437813.jpeg
एक्स्पोमा हुन्डाइ, टाटा, टोयोटा, महिन्द्रा, किया, निसान, बीवाईडी, एमजी, सिट्रोन, डेन्जा, जिकर, लिपमोटर, वुलिङलगायत चारपाङ्ग्रे तथा बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, सीएफ मोटो, ट्रायम्फलगायत दुईपाङ्ग्रे ब्रान्ड सहभागी छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् ।

BYD-1786437878.jpeg
एक्स्पोमा आउने दर्शकका लागि नेपाल पुलिस क्लबमा कार तथा भृकुटीमण्डप परिसरमै मोटरसाइकल पार्किङको व्यवस्था गरिएको छ । एक्स्पो प्रवेशका लागि रु २०० टिकट शुल्क तोकिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update