RayNewsDaily
फिनटेकदेखि गिग इकोनोमीसम्म फैलिँदै डिजिटल अर्थतन्त्र
सङ्घीय संसद्, राष्ट्रिय सभाअन्तर्गत आज समितिको सभाकक्ष, सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक । तस्बिर : गोपाल दाहाल/रासस
  • डिजिटल अर्थतन्त्र फिनटेक र डिजिटल भुक्तानीभन्दा बाहिर विस्तार हुँदै ।
  • कन्टेन्ट क्रिएसन, गिग इकोनोमी र एल्गोरिदमले नयाँ अवसर सिर्जना गर्दै ।
  • डेटा सुरक्षा र डिजिटल पूर्वाधारका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक ।

रे समाचार/काठमाडौँ । डिजिटल अर्थतन्त्रको दायरा वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तार हुँदै गएको विज्ञहरूले बताएका छन् । डिजिटल प्रविधिको विकाससँगै नयाँ व्यवसाय र रोजगारीका अवसरसमेत सिर्जना भइरहेको उनीहरूको भनाइ छ ।

राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘डिजिटल अर्थतन्त्र’ सम्बन्धी छलफलमा विज्ञ रमाकान्त पाण्डेले डिजिटल अर्थतन्त्रको प्रभाव नेपाली बजारमा बढ्दै गएको बताउनुभयो । उहाँले कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरका गतिविधिले समेत अर्थतन्त्रमा प्रभाव पार्न थालेको उल्लेख गर्नुभयो ।

विज्ञ दिनेश विष्टले डिजिटल अर्थतन्त्रमा नेपालको सम्भावना राम्रो भए पनि डिजिटल पूर्वाधार, फाइभजी नेटवर्क र कानुनी संरचनामा थप सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणका लागि डेटा आदानप्रदान र व्यक्तिगत डेटा संरक्षणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो ।

Digital-payment-1786437167.jpg
उहाँका अनुसार बैंकले ऋण दिँदा आवश्यक लालपुर्जाजस्ता विवरण नागरिकसँग माग्नुको सट्टा सम्बन्धित सरकारी निकायबाटै प्राप्त गर्न सकिने व्यवस्था गर्नुपर्छ । यसका लागि विभिन्न सरकारी निकायबीच डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्न सके कम्पनी दर्तालगायत सार्वजनिक सेवामा लाग्ने समय घटाउन सकिने उहाँले बताउनुभयो ।

व्यक्तिगत विवरण अनधिकृत प्रयोग वा चुहावट भएमा सम्बन्धित निकायलाई जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको विष्टको भनाइ थियो । छलफलका सहभागीले डिजिटल अर्थतन्त्रको विकासका लागि प्रविधि र पूर्वाधारसँगै डेटा सुरक्षा, अन्तरसरकारी डेटा आदानप्रदान, डिजिटल सुशासन तथा आवश्यक कानुनी संरचनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update