RayNewsDaily
पुस्तकालय दिवस भदौ १५ गते, ‘सबैको गन्तव्य’ बन्दै पुस्तकालय
उन्नाइसौँ पुस्तकालय दिवसका अवसरमा आयोजित तयारीसम्बन्धी बैठकमा सहभागीहरू । तस्बिर : रासस
  • भदौ १५ गते देशभर पुस्तकालय दिवस मनाइँदै ।
  • ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ आदर्श वाक्य तय ।
  • प्रदेशदेखि स्थानीय तहसम्म विविध कार्यक्रम सञ्चालन हुने ।

रे समाचार/काठमाडौँ । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते देशभर विभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो ।

यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ तय गरिएको छ । नाराले उमेर, वर्ग र समुदायको सीमाभन्दा माथि उठेर सबैका लागि पुस्तकालयको पहुँच र उपयोगितालाई जोड दिएको छ ।

दिवसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्मान तथा पुरस्कार, प्रकाशन तथा सम्पादन, प्रचारप्रसार तथा सामाजिक एवं रचनात्मक क्रियाकलाप गरी चार विषयगत समिति गठन गरिएको छ ।

पुस्तकालय क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रका छाता सङ्गठन, शैक्षिक तथा सामाजिक संस्थाका प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गरिएको छ ।

पुस्तकालय दिवसका अवसरमा प्रदेश र स्थानीय तहका शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । त्यसका लागि सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने निर्णय भएको नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिनेछ । साथै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घलाई समेत सहजीकरणका लागि अनुरोध गरिने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update