• उद्योग र डिपोमा मन्त्रीको अनुगमन ।
• विद्यार्थी र मजदुरलाई प्राथमिकता दिन निर्देशन ।
• उपत्यकामा दैनिक ४० हजार सिलिन्डर बिक्री ।
रे समाचार/काठमाडौँ । काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न सरकारले ग्यास उद्योग तथा डिपोको अनुगमन तीव्र बनाएको छ ।
नेपाल आयल निगमले साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको जनाएको भए पनि सहज रूपमा ग्यास नपाएको उपभोक्ताको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आज काठमाडौँका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभयो ।
मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिनुभयो । त्यसपछि उहाँ निगमको टेकुस्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको स्वकीय सचिवालयले जनाएको छ ।
अनुगमनका क्रममा मन्त्री यादवले विद्यार्थी, मजदुर तथा अप्ठ्यारामा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभयो । ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री वितरण गरिरहेका छन् ।
उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरी ग्यासको बिक्री वितरण सहज बनाउने काम गरिरहेको जनाएको छ । उपत्यकामा मात्रै दैनिक करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ ।
निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जानकारी दिँदै आगामी दिनमा आयातको परिमाण बढाउने प्रयास भइरहेको बताउनुभयो ।
