• रानी–विराटनगरमा सात किमि पोडवे निर्माण ।
• निजी लगानीमा आधुनिक सार्वजनिक यातायात ।
• दोस्रो चरणमा भेडेटारसम्म विस्तारको लक्ष्य ।
रे समाचार/काठमाडौँ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौँ पोडवे कम्पनी प्रालिबीच नेपालमा पोडवे निर्माणका लागि आज औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कम्पनीका उपाध्यक्ष निल भट्टराई र प्राधिकरणका कार्यकारी प्रमुख सरोज कोइरालाले हस्ताक्षर गर्नुभयो । निजी क्षेत्रको लगानीमा निर्माण हुने परियोजनाको पहिलो चरणअन्तर्गत रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म सात किलोमिटर लामो नमूना पोडवे निर्माण गरिनेछ । दोस्रो चरणमा यसलाई पर्यटकीयस्थल भेडेटारसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ ।
सम्झौताअनुसार परियोजना राष्ट्रिय यातायात नीति र प्रचलित कानुनी व्यवस्थाअनुसार निर्माण हुनेछ । एआई र अत्याधुनिक प्रविधिमा आधारित पोडवेले सुरक्षित, द्रुत, वातावरणमैत्री तथा प्रदूषणरहित सार्वजनिक यातायात सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीका उपाध्यक्ष भट्टराईले निजी लगानीमा नेपालमा आधुनिक सार्वजनिक यातायातको ठूलो पूर्वाधार निर्माण हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले यस परियोजनाले विश्वस्तरीय यातायात प्रविधि नेपालमा भित्र्याउँदै सार्वजनिक यातायातको विकासमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।
