- रु १० लाखको बम्पर विजेता घोषणा ।
- १५ जना दैनिक विजेताले पनि पाए पुरस्कार ।
- दुई करोड ५६ लाखभन्दा बढी डिजिटल कारोबार सहभागी ।
रे समाचार/काठमाडौँ । सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ जना दैनिक विजेता र रु १० लाखका एक बम्पर विजेता घोषणा गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिल लिने–दिने संस्कृतिको विकास, डिजिटल भुक्तानीको विस्तार र औपचारिक अर्थतन्त्रलाई मजबुत बनाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
आन्तरिक राजस्व विभागका अनुसार बम्पर पुरस्कार कुपन नम्बर ००७३१५२५४४९३ लाई परेको छ । उक्त कुपनधनीले शिवकृष्ण जनरल स्टोरबाट रु २५० बराबरको सामान खरिद गरी कार्यक्रममा सहभागिता जनाएका थिए ।
अर्थमन्त्री वाग्लेले सबै आर्थिक कारोबार अभिलेखीकरण गर्दै सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउनु सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले बिलिङ संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै नागरिकलाई कर प्रणालीप्रति थप उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार पहिलो चरणमै करिब दुई करोड ५६ लाख डिजिटल कारोबार र रु ७६ अर्ब ६० करोडभन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको छ । आगामी दिनमा मासिक कारोबार खर्बौँ रुपैयाँ पुग्ने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले साउन १ देखि १५ गतेसम्मका दैनिक तथा बम्पर उपहारका विजेता कम्प्युटर प्रणालीमार्फत छनोट गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विजेता छनोटका लागि ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्यान्डम स्याम्पलिङ विथआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको हो । यसबाट सबै कुपनले समान अवसर पाउने, एउटै कुपन एउटै चरणमा दोहोरिन नपाउने तथा छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र सुरक्षित हुने उहाँले बताउनुभयो ।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्म सात हजार ७७ नगद कारोबारबाट करिब रु आठ करोड २४ लाख बराबरको वस्तु तथा सेवा खरिदको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ । यस अवधिमा तीन हजार ९१५ विक्रेतासँग भएका कारोबार समावेश भएका छन् । त्यस्तै, विद्युतीय भुक्तानीमार्फत दुई करोड ५६ लाख आठ हजार ९४ कारोबार प्रणालीमा दर्ता भएका छन् । कुल कारोबार रकम रु ७६ अर्ब ६० करोड तीन लाख २३ हजार ३८१ पुगेको विभागले जनाएको छ ।
