RayNewsDaily
राष्ट्र बैंकले ६० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्ने
  • राष्ट्र बैंकले रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्ने ।
  • बोलकबोल आज अपराह्न ३:०० बजेसम्म ओबीएसएसमार्फत ।
  • साँवा र ब्याज भदौ २२ गते भुक्तानी गरिने ।

रे समाचार/काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्न रु ६० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप सङ्कलन उपकरणको अवधि ३१ दिन रहनेछ । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत आवेदन दिनुपर्नेछ ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप सङ्कलन गरिनेछ । साँवा र ब्याज आगामी भदौ २२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा न्यूनतम रु १० करोडदेखि अधिकतम कुल आह्वान रकमसम्म रु १० करोडका गुणांकमा आवेदन दिन सकिनेछ । रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ । समान ब्याजदरमा माग बढी भएमा प्रो-राटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।

राष्ट्र बैंकका अनुसार स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरिनेछ । सङ्कलित निक्षेप भुक्तानी मितिअघि फिर्ता लिन नपाइने भए पनि एसएलआर तथा तरलता अनुपात गणनामा भने समावेश गर्न सकिनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update