- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने ।
- जनही रु एक लाख र बम्परमा रु १० लाख नगद पुरस्कार ।
- क्यूआरबाट खरिद गर्ने स्वतः सहभागी, नगद खरिदकर्ताले बिल प्रविष्ट गर्नुपर्ने ।
काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । विभागले पहिलो उपहार कार्यक्रम आगामी शुक्रबार घोषणा गर्ने भएको छ ।
विभागले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारी गराएको छ । विभागका महानिर्देशक डा भीष्मकुमार भुसालका अनुसार साउन १ देखि १५ गतेसम्म अनलाइन वा नगदमार्फत वस्तु तथा सेवा खरिद गरी नियमअनुसार बिल प्रविष्ट गरेका उपभोक्तालाई उपहार प्रदान गरिनेछ ।
हरेक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपछि जनही रु एक लाख नगद प्राप्त गर्नेछन् । यस अवधिमा खरिद गर्ने सबै योग्य उपभोक्तामध्ये एक जनाले रु १० लाखको बम्पर नगद उपहार जित्ने व्यवस्था गरिएको छ । बम्पर उपहार रकममा भने कर लाग्ने विभागले जनाएको छ ।
बैंक वा वालेटको क्यूआरमार्फत खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन् । नगदमा खरिद गर्नेले भने प्यान वा भ्याट बिल लिएर विभागको वेबसाइटमा विवरण प्रविष्ट गरी कुपन लिनुपर्ने व्यवस्था गरिएको छ ।
विभागका अनुसार अबदेखि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन उपहार घोषणा गरिनेछ । रासस
