- नेप्से २१.१५ अंकले घट्यो ।
- ४.०७ अर्ब रुपैयाँको कारोबार ।
- सबै १३ उपसमूह राताम्मे ।
रे समाचार/काठमाडौँ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । हिजो घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज २१.१५ अंक घटेर २६६३.१८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
एभरेष्ट कलरको शेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य निरन्तर १२ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ११.६७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज खानीखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशतले घटेको छ ।
