RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ५७ करोड नाघ्यो
  • नेप्से २६८४.३३ विन्दुमा झर्‍यो ।
  • कारोबार रकम बढेर ४ अर्ब ५७ करोड पुग्यो ।
  • एभरेष्ट कलरको शेयरमा लगातार सकारात्मक सर्किट ।

रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।

आज एभरेष्ट कलर लिमिटेडको शेयर लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १९६ रुपैयाँ ३० पैसा बढेर प्रतिकित्ता १ हजार ५०५ रुपैयाँ ६० पैसामा पुगेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ११.५ प्रतिशतभन्दा बढी र महुली लघुवित्त वित्तीय संस्थाको शेयर ७ प्रतिशतभन्दा बढीले बढेको छ । रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य भने सबैभन्दा धेरै ७.४० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो । कम्पनीको २७ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो । रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update