- अगस्ट ६-८ सम्म काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन ।
- २२ देशका विज्ञ, अनुसन्धानकर्ता र मनोवैज्ञानिकको सहभागिता ।
- १६४ अनुसन्धानपत्र प्रस्तुति, मानसिक स्वास्थ्यदेखि एआईसम्मका विषयमा छलफल ।
रे समाचार/काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेशनल कलेजले आगामी अगस्ट ६ देखि ८ सम्म ‘इन्टरनेशनल कन्फ्रेन्स अन एप्लाइड साइकोलोजी (ICAP 2026)’ आयोजना गर्ने भएको छ । सम्मेलनमा २२ देशका अनुसन्धानकर्ता, मनोवैज्ञानिक, शिक्षाविद् र नीति निर्माताको प्रत्यक्ष तथा अनलाइन सहभागिता रहनेछ ।
‘व्यवहार विज्ञानको उन्नति : बहुविषयगत र अन्तरसांस्कृतिक दृष्टिकोण’ (Behavioral Science Advancement: A Multidisciplinary and Cross-Cultural Perspective) नारासहित हुने तीनदिने सम्मेलन नेपाल एसोसिएसन अफ साइकोलोजिस्ट्स र साइडेस्क फाउन्डेसनको सहकार्यमा आयोजना हुन लागेको हो । सम्मेलनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले गर्ने कार्यक्रम छ ।
सम्मेलनमा मानसिक स्वास्थ्य, शिक्षा, कार्यस्थलको स्वास्थ्य, सामुदायिक उत्थान, सार्वजनिक नीति र दिगो विकासलगायत विषयमा अन्तर्राष्ट्रिय विज्ञबीच छलफल हुनेछ । अमेरिका, बेलायत, क्यानडा, स्पेन, फ्रान्स, अष्ट्रेलिया, भारत, बंगलादेश, हङकङ, श्रीलंका, थाइल्यान्ड, इथियोपिया, ओमान र नेदरल्यान्ड्ससहित २२ देशका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।
कलेजमा आज आयोजित पत्रकार भेटघाटमा सम्मेलन संयोजक तथा नेशनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले जटिल सामाजिक चुनौती समाधानका लागि प्रमाणमा आधारित मनोवैज्ञानिक हस्तक्षेप र अन्तरसांस्कृतिक सहकार्य आवश्यक रहेको बताउनुभयो । सम्मेलनले मानसिक स्वास्थ्य, सामुदायिक सुदृढीकरण र दिगो विकासमा विश्वव्यापी सहकार्य विस्तार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेशनल कलेजका उपप्राचार्य छत्र कार्की र सम्मेलनका समन्वय सचिव डा. नरेन्द्र सिंह ठगुन्ना ।
सम्मेलनका समन्वय सचिव डा. नरेन्द्र सिंह ठगुन्नाका अनुसार सम्मेलनमा १६४ वटा अनुसन्धानपत्र प्रस्तुत गरिनेछन् । अनुसन्धानपत्र क्लिनिकल तथा काउन्सिलिङ मनोविज्ञान, न्युरोसाइन्स, संगठनात्मक तथा शैक्षिक मनोविज्ञान, कृत्रिम बुद्धिमत्ता र मानसिक स्वास्थ्य, खेल मनोविज्ञान, बौद्ध मनोविज्ञान तथा विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित रहनेछन् ।
सम्मेलनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मनोवैज्ञानिकहरूको मुख्य मन्तव्य, प्यानल छलफल, कार्यशाला, सिम्पोजियम तथा अन्तरक्रियात्मक प्रस्तुति सत्रसमेत सञ्चालन गरिनेछ ।
आयोजकका अनुसार सम्मेलनले अन्तर्राष्ट्रिय सहकार्य विस्तार, व्यवहार विज्ञानसम्बन्धी नवीन अनुसन्धानको आदानप्रदान, विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच पेशागत सञ्जाल सुदृढीकरण, बहुविषयगत अनुसन्धान प्रवर्द्धन र दिगो विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
सम्मेलनमा प्रस्तुत उत्कृष्ट अनुसन्धान काठमाडौं विश्वविद्यालयको ‘Bodhi: An Interdisciplinary Journal’, नेशनल कलेजको ‘Samriddhi Journal of Development Studies’ तथा अन्य सहकर्मी समीक्षित जर्नल र सम्पादित पुस्तकमा प्रकाशन गरिने आयोजक समितिका सदस्य तथा नेशनल कलेजका उपप्राचार्य छत्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट सम्मेलनमा सिर्जित ज्ञान अनुसन्धान, शिक्षा, नीति निर्माण र व्यवहारिक अभ्यासमा उपयोग हुने अपेक्षा गरिएको छ ।
नेशनल कलेजले ICAP 2026 ले नेपाललाई अन्तर्राष्ट्रिय मनोविज्ञान अनुसन्धान तथा शैक्षिक सहकार्यको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
