- तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला ।
- बेपत्ता भएको एक दिनपछि कारको पछाडिको सिटमा शव भेटियो ।
- घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढायो ।
रे समाचार/काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । मृतक तारकेश्वर-९ निवासी ४५ वर्षीया रश्मि रिजाल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार शुक्रबार कार्यालय जान्छु भन्दै घरबाट निस्किएकी रिजाल कार्यालय नपुगेपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो ।
खोजीका क्रममा शनिबार चुनदेवी क्षेत्रमा पार्किङ गरिएको कारको पछाडिको सिटमा जलेको अवस्थामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ । कारको भित्री भाग अधिकांश जलेको रहेको र प्रारम्भिक रूपमा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले फरेन्सिक परीक्षणसहित विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ ।
