RayNewsDaily
नेपाली सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न, ३५ अधिकृत दीक्षित
  • नेपाली सैनिक वार कलेजमा सञ्चालित सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम प्रधान सेनापति अशोक राज सिग्देलले समापन गर्नुभयो ।
  • ३५ जना महासेनानी दर्जाका अधिकृत सहभागी रहेको तालिममा महासेनानी प्रशान्त बज्राचार्य ‘बेस्ट स्टुडेन्ट अफिसर’ घोषित हुनुभयो भने महासेनानी प्रकाश थापाले सर्वोत्कृष्ट शोधपत्र पुरस्कार प्राप्त गर्नुभयो ।
  • स्टेटक्राफ्ट, भू-राजनीति, कूटनीति, विश्व व्यवस्था, सैन्य रणनीति तथा नेतृत्व व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस तालिमबाट हालसम्म ४१० जना अधिकृत दीक्षित भइसकेका छन् ।

रे समाचार/काठमाडौं । नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न भएको छ । २०८२ चैत १५ गतेदेखि सञ्चालन भएको तालिमको समापन २०८३ साउन ५ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देल ले एक कार्यक्रमबीच गर्नुभएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तालिममा महासेनानी दर्जाका ३५ जना शिक्षार्थी सहभागी थिए । समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह काकी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

army2-1784647841.jpg
तालिममा महासेनानी प्रशान्त बज्राचार्य समग्रमा प्रथम हुँदै ‘बेस्ट स्टुडेन्ट अफिसर’ घोषित हुनुभएको छ । त्यसैगरी महासेनानी प्रकाश थापा ले सर्वोत्कृष्ट शोधपत्र पुरस्कार प्राप्त गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

समापन समारोहमा पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द, अधिकृतहरू तथा शिक्षार्थी अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरीय तालिमका रूपमा रहेको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम को उद्देश्य शिक्षार्थीलाई स्टेटक्राफ्ट (Statecraft), भू-राजनीति (Geopolitics) तथा आर्थिक गतिशीलता (Economic Dynamics), राजनीतिक दर्शन (Political Philosophy), कूटनीति (Diplomacy), विश्व व्यवस्था (World Order), सैन्य तथा सुरक्षा रणनीति (Military and Security Strategy) तथा नेतृत्व र व्यवस्थापन (Leadership and Management) सम्बन्धी विषयमा ज्ञान प्रदान गर्नु रहेको जनाएको छ ।

नेपाली सेनामा वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म जम्मा ४१० जना अधिकृत दीक्षित भइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update