RayNewsDaily
नुवाकोटमा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सांसद तिमिल्सिनाको पहल

रे समाचार/काठमाडौं । अविरल वर्षासँगै नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना भएपछि नुवाकोट-१ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग सक्रिय पहल गर्नुभएको छ । डा. तिमिल्सिना सूचना तथा संचार मन्त्री रहनुभएको छ ।

दुप्चेश्वर, सूर्यगढी, तादी र पञ्चकन्या गाउँपालिकालगायतका क्षेत्रमा पहिरो तथा अन्य वर्षाजन्य विपद्का घटना भएको जानकारी प्राप्त भएपछि उहाँले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार, राहत, क्षतिको यथार्थ विवरण संकलन तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभएको हो ।

pahiro-1784561027.jpg
उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग निरन्तर समन्वय गरिरहनुभएको छ । दुप्चेश्वर, सूर्यगढी र पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गरी प्रभावित क्षेत्रको अवस्था बुझ्ने, आवश्यक राहत सामग्रीको व्यवस्थापन तथा पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन पहल भइरहेको उहाँको सचिवालयले जनाएको छ ।

pahiro2-1784561093.jpg
यसैबीच उहाँले सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख इन्जिनियर बद्री शर्मासँग भेट गरी वर्षाका कारण सडक तथा अन्य पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन, मर्मत तथा पुनःस्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारीसँग पनि उहाँले निरन्तर सम्पर्कमा रही प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार, राहत, सडक सञ्चालन तथा अत्यावश्यक सेवाको पुनःसञ्चालनबारे समन्वय गरिरहनुभएको जनाइएको छ ।

pahiro3-1784561204.jpg
सम्बन्धित निकायहरू प्रभावित क्षेत्रमा परिचालित भई उद्धार, राहत वितरण, क्षतिको विवरण संकलन तथा अन्य आवश्यक कार्यमा सक्रिय रहेको उहाँको सचिवालयले जनाएको छ । प्राप्त विवरणका आधारमा दीर्घकालीन तथा दिगो समाधानका लागि आवश्यक अध्ययन र पहलसमेत अघि बढाइने उल्लेख गरिएको छ ।

उहाँ स्वयं पनि प्रभावित क्षेत्रको स्थलगत अनुगमनको तयारीमा रहनुभएको छ । उहाँले नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचना तथा निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।

साथै, प्रभावित नागरिकलाई विपद्सम्बन्धी सूचना, क्षतिको विवरण वा तत्काल सहयोग आवश्यक परे उहाँको सचिवालयमा जानकारी गराउन अनुरोध गरिएको छ । सचिवालयका अनुसार प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिनेछ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update