- एमाले-नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति ।
- कोशी, बागमती र लुम्बिनीको नेतृत्व एमालेले गर्ने ।
- कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने ।
रे समाचार/काठमाडौं । नेकपा (एमाले) र नेकपाबीच प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीनबुँदे सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठकले प्रदेश सरकार गठन र नेतृत्व बाँडफाँटबारे सहमति गरेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार प्रदेश सभामा संयुक्त सरकार गठन गर्दै कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।
मधेस र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको आचार्यले बताउनुभयो ।
