RayNewsDaily
बागमतीका सबै जिल्लामा उद्योग प्रशासन सेवा अब अनलाइनमार्फत
  • बागमतीका १३ वटै जिल्लामा उद्योग प्रशासन सेवा अनलाइन हुने ।
  • उद्योग दर्ता, नवीकरण र नामसारी डिजिटल प्रणालीबाट हुने ।
  • सबै उद्योग कार्यालयलाई नमूना कार्यालय बनाउने लक्ष्य ।

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा उद्योग प्रशासन सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग दर्ता, नवीकरण, नामसारीलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने योजना आगामी आर्थिक वर्ष २०८३/८४ देखि कार्यान्वयनमा ल्याइने भएको हो ।

उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग प्रशासनसम्बन्धी सेवा अनलाइनमार्फत सुरु भइसकेको छ । मन्त्रालयका प्रवक्ता कुमार तामाङका अनुसार यही प्रणालीलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्ने तयारी गरिएको हो ।

मन्त्रालयले चितवन, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालय घोषणा गरिसकेको छ । आगामी आर्थिक वर्षमा प्रदेशका १३ वटै कार्यालयलाई नमूना कार्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको छ । यसका लागि नमूना कार्यालय व्यवस्थापन मापदण्डसमेत तयार भइसकेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म मन्त्रालयअन्तर्गत चार हजार ९५६ उद्योग र दुई हजार ५५० वाणिज्य फर्म दर्ता भएका छन् । बजारमा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई पनि निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update