- प्रधानमन्त्री शाहले आज निर्यातमुखी उद्योगी-व्यवसायीसँग छलफल गर्दै ।
- निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायमा केन्द्रित संवाद ।
- अर्थतन्त्र सुदृढ बनाउन निजी क्षेत्रसँग सरकारको निरन्तर परामर्श जारी ।
रे समाचार/काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्यात प्रवर्द्धनका लागि मुलुकका प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायीका प्रतिनिधिसँग आज छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा निर्यात क्षेत्रका समस्या, नीतिगत सुधार र समाधानका उपायबारे विस्तृत संवाद हुने जनाइएको छ ।
छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन् ।
सरकारले निर्यात बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्रसँग निरन्तर संवाद गरिरहेको छ । प्रधानमन्त्री शाहले पछिल्ला महिनाहरूमा उद्योगी-व्यवसायी र सरोकारवाला निकायसँग नियमित छलफल गर्दै नीतिगत सुधारका विषयमा सुझाव लिँदै आउनुभएको छ ।
