- वैदेशिक व्यापार १५.८८% बढेर २४.११ खर्ब रुपैयाँ पुग्दा व्यापार घाटा १७.८१ खर्ब रुपैयाँ नाघ्यो ।
- आयात १६.२०% र निर्यात १३.८१% बढे पनि निर्यातको हिस्सा घटेर १३.०७% मा सीमित ।
- डिजेल सबैभन्दा बढी आयात, भटमासको तेल सबैभन्दा बढी निर्यात ।
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भएर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । व्यापारको आकार बढेसँगै व्यापार घाटा पनि १६ दशमलव ६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब आठ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भएर तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यद्यपि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घटेर १३ दशमलव शून्य सात प्रतिशतमा सीमित भएको छ ।
आयाततर्फ डिजेल सबैभन्दा बढी एक खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँको भित्रिएको छ । त्यसपछि भटमासको कच्चा तेल, पेट्रोल, एलपी ग्यास, अर्धप्रशोधित फलाम र स्मार्टफोन प्रमुख आयातित वस्तु रहेका छन् । निर्याततर्फ भने भटमासको तेल एक खर्ब २८ अर्ब ७४ करोड रुपैयाँसहित पहिलो स्थानमा रहेको छ । अलैँची, ऊनी गलैँचा, सूर्यमुखी तेल र जुटका काँचो कपडा पनि प्रमुख निर्यातित वस्तुमा परेका छन् ।
नेपालले भारतबाट १२ खर्ब १० अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा दुई खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । भारतसँगको व्यापार घाटा नौ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । चीनसँगको व्यापार घाटा चार खर्ब २३ अर्ब ३५ करोड रुपैयाँ रहेको विभागको तथ्याङ्कले देखाएको छ ।
नाकागत रूपमा वीरगञ्ज भन्सारबाट सबैभन्दा बढी आयात तथा निर्यात भएको छ । कुल आयातको ४७ दशमलव शून्य पाँच प्रतिशत र कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत हिस्सा वीरगञ्ज नाकाबाट भएको विभागले जनाएको छ । रासस
