- कर प्रशासन सुधारमार्फत नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने सरकारको लक्ष्य ।
- स्वेच्छिक कर अनुपालन, डिजिटल कारोबार र करदाता सचेतनामा जोड ।
- कर प्रशासनमा जनशक्ति, पूर्वाधार र प्रविधि सुधारका लागि आवश्यक सहयोगको प्रतिबद्धता ।
रे समाचार/काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आज देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले पनि गम्भीर रूपमा निगरानी गर्नुपर्ने बताउनुभयो ।
उहाँले कर प्रशासनमा कार्यरत कर्मचारीहरूको वृत्तिविकास, कार्यसम्पादन र राज्यलाई दिएको योगदानका आधारमा मूल्याङ्कन गरिने स्पष्ट पार्नुभयो । कर सङ्कलनका नाममा करदातालाई त्रसित बनाउनेभन्दा स्वेच्छिक कर अनुपालनको वातावरण सिर्जना गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई थप प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिसम्बन्धी कुनै अभाव भए खुलस्त रूपमा जानकारी दिन आग्रह गर्नुभयो । राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने पनि उहाँले बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको बजेटलाई दीर्घकालीन आर्थिक रूपान्तरणको आधारका रूपमा बुझ्न आग्रह गर्दै आगामी चार आर्थिक वर्षमा सरकारले निर्माण गर्न खोजेको अर्थतन्त्रको स्पष्ट खाका यस बजेटबाट देखिने उल्लेख गर्नुभयो ।
बजेटमा घोषणा गरिएका कर छुटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना बढाउन तथा कारोबारलाई थप डिजिटल बनाउन विभागीय नेतृत्वलाई उहाँले निर्देशन दिनुभयो ।
