RayNewsDaily
नेप्से १४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो
  • नेप्से १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा पुग्यो ।
  • कारोबार रकम घटेर ४ अर्ब ६९ करोडमा सीमित भयो ।
  • एभरेष्ट कलरको शेयर सकारात्मक सर्किटमा कारोबार भयो ।

रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज सामान्य अंक बढेर बन्द भएको छ । ६ कारोबार दिनपछि हिजो करेक्सन भएको नेप्से आज सकारात्मक भएर बन्द भएको हो । आज नेप्से परिसूचक १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार भने घटेको छ । हिजो ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

एभरेष्ट कलर लिमिटेडको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, स्नो रिभर्सको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशतले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक १५ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ३३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको साढे २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिडी पावरको करिब २५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ । १३ वटा उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update