- नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. भीमप्रसाद खतिवडा नियुक्त ।
- नियुक्तिपछि शिक्षा मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण ।
- शैक्षिक गुणस्तर, अनुसन्धान र सम्पदा संरक्षणमा जोड दिने प्रतिबद्धता ।
रे समाचार/काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले मंगलबार नै उहाँलाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।
शिक्षा मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।
नाट्य विद्यामा विद्यावारिधि गर्नुभएका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।
झापामा जन्मिनुभएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उहाँले नेपाली विद्वानद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गर्नुभएको हो ।
शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन-अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको राससले जनाएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालय हो । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन-अध्यापन र अनुसन्धान हुँदै आएको छ ।
