- नेप्से १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा झर्यो ।
- कारोबार रकम घटेर ५ अर्ब १८ करोडमा सीमित ।
- एभरेष्ट कलर सकारात्मक सर्किटमा, रिडी पावरको कारोबार सर्वाधिक ।
रे समाचार/काठमाडौं । पछिल्ला ६ कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेमा आज भने करेक्सन भएको छ । नेप्से परिसूचक आज १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
एभरेष्ट कलर लिमिटेडको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ६४ रुपैयाँ २० पैसा बढेर ४९२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, बुंगल हाइड्रोको शेयरमूल्य साढे १० प्रतिशतले बढेको छ भने सालपा विकास बैंकको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड ३० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
