RayNewsDaily
दुर्गम र सीमावर्ती क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
  • नेपाल टेलिकमले हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
  • सेवा विस्तारसँगै स्थानीय बासिन्दाले उच्च गतिको इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा र डिजिटल सेवाको सहज पहुँच पाउने भएका छन् ।
  • शिक्षा, स्वास्थ्य, व्यापार, बैंकिङ, पर्यटन तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा सेवा विस्तारले सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

रे समाचार/काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा सीमावर्ती क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै हुम्ला, नुवाकोट, रसुवा र बाराका विभिन्न स्थानमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार हुम्लाको नाम्खा गाउँपालिका-स्थित केर्मी, नुवाकोटका जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराका भगवानपुर र मधुरीजाब्दीमा नयाँ टावरमार्फत सेवा सञ्चालन सुरु गरिएको हो ।

हुम्लाको केर्मी टावर सञ्चालनमा आएपछि नाम्खा गाउँपालिकाका केर्मी, च्यादुक र चालागाउँका बासिन्दा, सिमकोट-हिल्सा सडकखण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्वास्थ्य संस्था, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

बाराको मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया र कलैयामाई क्षेत्रका बासिन्दाले सेवा पाउने भएका छन् । भगवानपुर टावरमार्फत पटेर्वा, हरिहरपुर, हर्नैयाचोक र सिम्रौनगढ आसपासका बस्ती तथा विद्यालय क्षेत्र पनि सेवा पहुँचमा आएका छन् ।

त्यसैगरी रसुवाको टिमुरे टावरबाट उत्तरी सीमानाका आसपासका बस्ती लाभान्वित भएका छन् भने नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा बाहुनबेँसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय दूरसञ्चार सेवा पाउन थालेका छन् ।

नेपाल टेलिकमले सेवा विस्तारसँगै दुर्गम तथा भौगोलिक रूपमा जटिल क्षेत्रमा बसोबास गर्ने नागरिकले उच्च गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस सेवाको सहज पहुँच प्राप्त गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यसले शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक सेवा, डिजिटल बैंकिङ तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै सीमावर्ती क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधि थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update