- शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिक्षा तथा खेलकुद सहकार्यबारे छलफल ।
- प्राविधिक शिक्षा, सीपमूलक तालिम र डिजिटल शिक्षामा सहकार्य विस्तार गर्ने विषयमा जोड ।
- सार्वजनिक विद्यालय सुधारका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता ।
रे समाचार/काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको लामो कूटनीतिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा हितका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा शिक्षा क्षेत्रमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई अझ प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकी सहयोग नियोग (युएसएआईडी) मार्फत अर्लिग्रेड रिडिङ एन्ड लर्निङ कार्यक्रम तथा कलेज अफ एजुकेसनमा समेत सहयोग हुँदै आएको छ ।
भेटमा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा सुधारका विभिन्न कार्यक्रम अघि बढिरहेको जानकारी दिँदै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको बताउनुभयो ।
मन्त्री पोखरेलले सैद्धान्तिकभन्दा व्यावहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिने गरी पाठ्यक्रम विकास गरिने उल्लेख गर्नुभयो । साथै विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समेट्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र त्यसका आधारमा आगामी दिनमा आवश्यकताअनुसार बजेट विनियोजन गरिने बताउनुभयो । सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि द्विपक्षीय समझदारीमार्फत सहयोग गर्न अमेरिका सकारात्मक रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि अघि बढाएका प्रयासमा अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
