RayNewsDaily
तयारी पोसाक उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
  • तयारी पोसाक उद्योगको विकास र निर्यात प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ ।
  • टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न निर्देशन ।
  • रुग्ण उद्योग सञ्चालन र अन्तर्राष्ट्रिय बजार विस्तारका समस्या समाधान गर्ने सरकारको पहल ।

रे समाचार/काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगी तथा व्यवसायीको हितमा सरकार सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

छलफलपछि प्रधानमन्त्री शाहले विभागीय मन्त्रीलाई ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । काउन्सिल गठन भएपछि स्वदेशी कच्चापदार्थमा आधारित तयारी पोसाक उत्पादनको निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनमा सहयोग पुग्ने व्यवसायीको अपेक्षा छ ।

प्रधानमन्त्री शाहले उद्योगी तथा व्यवसायीको मागअनुसार रुग्ण उद्योगलाई तत्काल सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिनुभएको छ ।

उहाँले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) विस्तारका लागि आवश्यक वातावरण बनाउन तथा परीक्षण प्रमाणपत्र (टेस्टिङ सर्टिफिकेसन) को समस्या समाधान गरी तयारी पोसाकको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ को अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकारले काम गर्ने प्रधानमन्त्री शाहले बताउनुभयो ।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रको दिशामा अघि बढाउन तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले यस क्षेत्रले भोगिरहेका समस्या समाधान गर्न सरकार सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा तयारी पोसाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update