रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य अंकले बढ्दै १९ कारोबार दिनपछि पुनः २७०० विन्दुमाथि पुगेको छ । लगातार पाँचौँ दिनको वृद्धिसँगै बजारमा लगानीकर्ताको उत्साह बढेको देखिएको छ भने कारोबार रकम पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा बन्द भयो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.२२ अंक, फ्लोट इन्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४६ अंकले उकालो लागेको छ । यससँगै पछिल्ला केही सातादेखि सुधारको लय समातेको सेयर बजारले नयाँ आर्थिक वर्षको सुरुआतमै सकारात्मक संकेत दिएको विश्लेषण गरिएको छ ।
आजको कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । शुक्रबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार कित्ता सेयर ६७ हजार १५५ पटक किनबेच हुँदा कुल ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले बढेर ३७२ रुपैयाँ ४० पैसामा पुगेको छ । रिज लाइन इनर्जीको सेयर १४ प्रतिशतभन्दा बढी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर करिब ११ प्रतिशतले बढेको छ । विपरीत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.८६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट हुने कम्पनी बनेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको २९ करोड १५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको करिब २४ करोड ५० लाख रुपैयाँ र रिडी पावर डेभलपमेन्ट कम्पनीको २० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
क्षेत्रगत रूपमा पनि बजारमा हरियाली छाएको छ । १३ मध्ये १२ उपसमूहको परिसूचक बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी ३.२१ प्रतिशतले उकालो लागेको छ । जलविद्युत र अन्य समूह २ प्रतिशतभन्दा बढी बढेका छन् भने विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार समूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक भने सामान्य अंकले घटेको छ ।
बजार विश्लेषकहरूका अनुसार लगातार पाँच कारोबार दिनको सुधार, बढ्दो कारोबार रकम र अधिकांश उपसमूहमा देखिएको हरियालीले लगानीकर्ताको आत्मविश्वास बलियो बन्दै गएको संकेत गरेको छ । यद्यपि आगामी दिनमा मौद्रिक नीति, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण र समग्र आर्थिक गतिविधिले बजारको आगामी दिशा तय गर्ने भएकाले लगानीकर्ताले कम्पनीको आधारभूत अवस्था अध्ययन गरेर मात्र लगानी निर्णय लिनुपर्ने सुझाव दिइएको छ ।
