रे समाचार/काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । पछिल्ला तीन कारोबार दिन सामान्य अंक बढेको नेप्से परिसूचक आज ७९.७४ अंक बढेर २६७७.५४ विन्दुमा पुगेको छ । नेप्से उच्च अंकले बढे पनि आज कारोबार रकम भने सामान्य मात्र वृद्धि भएको छ । हिजो ४ अर्ब ५६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज १२५ रुपैयाँ ७० पैसा बढेर ९६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य करिब १५ प्रतिशतले बढेको छ भने शिखर पावर डेभलपमेन्टको शेयरमूल्य साढे १२ प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड २३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।
