RayNewsDaily
शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता    

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।     
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल-जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उहाँहरुबीच विचार-विमर्श भयो ।     
     
भेटका क्रममा नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।     
     
उहाँले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै भन्नुभयो, “सार्वजनिक शिक्षा सुधारका चुनौतीहरू छन् । त्यसलाई स्वीकार्नु नै सुधारको प्रारम्भिक पूर्वशर्त हो । त्यसमा शिक्षा तथा खेलकुद मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध छ ।”     
     
मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भएतापनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको बताउनुभयो ।     
     
 सोही आधारमा आगामी दिनमा आवश्यकता अनुसार विद्यालयमा बजेट विनियोजन गरिने बताउँदै भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाउनुभयो ।     
     
उहाँले सुरक्षित विद्यालय पूर्वाधार, ‘डिजिटल’ तथा ‘स्मार्ट लर्निङ’, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।     
     
 मन्त्री पोखरेलले जापानमा विद्यालयतहदेखि नै विद्यार्थीलाई सांस्कृतिक, मूल्य र अनुशासन सिकाउने अभ्यासलाई नेपालले पनि अनुशरण गरी संस्कृति, मूल्य-मान्यता तथा सहकार्यको भावना विकास गर्ने कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।     
     
मन्त्री पोखरेलले परिवर्तित सन्दर्भअनुसार नयाँ सोच र सुधारसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै सम्भावित क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभयो ।     

जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।     
     
उहाँले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीको विश्वास आवश्यक हुने उल्लेख गर्दै त्यस पहलमा जापानले आवश्यक सहयोग गर्ने बताउनुभयो ।     
     
उहाँले गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षकको पेसागत विकासका कार्यक्रम सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिनुभयो ।     
     
राजदूत तोरुले सार्वजनिक शिक्षा सुधारका लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।     
     
उहाँले शिक्षा क्षेत्रमा हुने सुधारले अपेक्षित परिणाम दिन समय लाग्ने भएकाले प्रारम्भिक चरणमै दृढ प्रतिबद्धता र धैर्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।     
     
राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्न सक्ने धारणा राख्नुभयो ।     
     
सूचना प्रविधि क्षेत्रमा नेपाल-जापानबीच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्यलाई अझ मजबुत बनाउन सकिने बताउनुभयो । रासस
 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update