रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक आज ६.११ अंक बढेर २५७६.२९ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज पनि ऋणपत्रहरुको कारोबार उल्लेख्य वृद्धि भएकोले कारोबार रकम बढाएको हो ।
कामना सेवा विकास बैंक डिबेञ्चरको मूल्य आज सर्वाधिक १०.२२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरको मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल एसबिआई डिबेञ्चरको मूल्य भने आज सर्वाधिक ९.६८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार भएका १० शीर्ष स्टकहरुमा ९ वटा ऋणपत्र रहेका छन् । आज ५२ करोड ७१ लाख रुपैयाँबराबरको केबिएल डिबेञ्चरको कारोबार भएको छ भने ३९ करोडभन्दा बढीको एनआईएमबि डिबेञ्चरको किनबेच भएको छ । यसैगरी, साढे ३७ करोड रुपैयाँभन्दा बढीको नेपाल एसबिआई बैंक डिबेञ्चर खरिदबिक्री भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।
