रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । ऋणपत्रको कारोबार बढेसँगै आज पनि कारोबार रकम बढ्न पुगेको हो ।
आज बढेका स्टकहरुको मूल्य वृद्धिदर साढे ५ प्रतिशतभन्दा कम रहेको छ । मूल्य बढेका शीर्ष १० वटा स्टकहरुको पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । सो लघुवित्तको शेयरमूल्य ५.३७ प्रतिशत बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ११.२८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनएमबि डिबेञ्चर शीर्ष स्थानमा रहेको छ । ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको हो । यसैगरी, ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको एनआईसी एशिया डिबेञ्चर किनबेच भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ, जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ ।
