RayNewsDaily
बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते   

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ।    
    
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन् ।    
    
जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको राससलाई टेलीफोनमा बताउनुभयो । स्थानीय र सुरक्षाकर्मी उद्धारमा सक्रिय छन् ।    
    
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन भएका बताउनुभयो । जीपमा १५ जना सवार रहेका जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।रासस   

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update