रे समाचार/काठमाडौं । मौद्रिक नीतिपछि शेयर बजार बढ्ने अपेक्षा गरिए पनि त्यस विपरीत आज बजारमा उच्च गिरावट आएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति हिजो सार्वजनिक भएको थियो । मौद्रिक नीतिमा लचिलो नीतिहरुको अपेक्षा गरिरहेका लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने कुनै नीति नपाएपछि आज बजार घट्न पुगेको हो ।
शेयर बजार मापक नेप्से परिसूचक आज ३०.०९ अंक घटेर २६२१.५९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज मूल्य बढेका स्टकहरुको वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक १३.४१ प्रतिशतले घटेको छ । यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १० प्रतिशतभन्दा बढीले घटेको छ भने सानिगाड हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज केबिएल डिबेञ्चर शीर्ष स्थानमा रहेको छ । सो ऋणपत्र आज ६२ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ । यसैगरी, साढे ४३ करोड रुपैयाँभन्दा बढीको एनसीसी डिबेञ्चर किनेबच भएको छ भने करिब २२ करोड रुपैयाँबराबरको सानिमा डिबेञ्चर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
