रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचकमा आज उच्च वृद्धि भएको छ । नेप्से परिसूचक आज २४.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
कालंगा हाइड्रोको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ६७ रुपैयाँ ३० पैसा बढेर ५१६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, आरबिबि फोकस ४० को इकाईमूल्य करिब १४ प्रतिशतले वृद्धि भएको छ भने सानिगाड हाइड्रोको शेयरमूल्य साढे १० प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज केबिएल डिबेञ्चर शीर्ष स्थानमा रहेको छ । २० करोड ७५ लाख रुपैयाँबराबरको सो डिबेञ्चर कारोबार भएको छ । यसैगरी, करिब १८ करोड रुपैयाँको एग्रीकल्चर बैंक डिबेञ्चरको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
