रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको हो । नेप्से परिसूचक आज ८.३० अंक घटेर २६५३.४० विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक १३.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ । ४३ करोड रुपैयाँबराबरको सो बण्ड किनबेच भएको छ । यसैगरी, करिब ४० करोड रुपैयाँबराबरको केबीएल डिबेञ्चर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
