रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज वृद्धि भएको छ । नेप्से परिसूचक आज ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । एनआईसी एशिया डिबेञ्चरको मूल्य भने आज सर्वाधिक १०.६० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआईसी एशिया डिबेञ्चरको साढे ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
