RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि

रे समाचार/काठमाडौं । पछिल्ला सात कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजार मापक नेप्सेमा आज उच्च अंकको वृद्धि भएको छ । नेप्से परिसूचक आज ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज स्नो रिभर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ५.२१ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २८ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update