RayNewsDaily

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा उच्च गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज चार वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update