RayNewsDaily
रास्वपा महाधिवेशनले चितवनमा गरायो ५० करोडभन्दा बढीको व्यापार    

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।     
     
झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु भरिन थालेका थिए । आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा रु ५० करोडभन्दा माथिको व्यापार भएको बताउनुहुन्छ । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहनुभएका गौतम झण्डै रु २० करोड आबासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले खर्च गरेको बताउनुभयो । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उहाँको भनाइ छ ।     
     
महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरु जिल्लामा आएको गौतमले बताउनुभयो । अन्य दिनमा क्रमशः घट्दै गएको भन्दै उहाँले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको बताउनुभयो ।     
     
सौराहालगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरु बसेको उहाँले बताउनुभयो । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने चार दिन खानाको व्यवस्था पार्टीले गरेको थियो । अघि पछि र अनुकूलको खाना प्रतिनिधिहरुले आफै खाएका थिए । पार्टीको मात्र रु चार करोडभन्दा बढी खर्च हुने भन्दै उहाँले यहाँका सबै क्षेत्र एक साता चलायमान भएको बताउनुभयो ।     
     
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली झण्डै एक साता जिल्ला चलायमान भएको बताउनुभयो । होटल रेष्टुरेण्ट भरिदाँ यसले अन्य क्षेत्रलाई चलायमान बनाउने उहाँले बताउनुभयो ।     
     
दुग्ध जन्य पदार्थ, माछा, मासु, अण्डा, फलपूmल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मूख्य रुपमा भरतपुरको आर्थिक चक्रमा राम्रो प्रभाव परेको छ ।”     
     
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको बताउनुहुन्छ । त्यसपछिको व्यपार सौराहालगायतका क्षेत्रमा भएको उहाँको भनाइ छ । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरु हेर्ने अवसर पाएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update