RayNewsDaily
शेयर बजारमा २ अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज २ अंक घटेर २६४९.५१ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । टक्सार पिखुवा खोला र याम्बालिङ्ग यस साताको पहिलो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबारमा आएको हो भने स्नो रिभर्स आजदेखि कारोबारमा आएको कम्पनी हो । कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १०.७६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर  शीर्ष स्थानमा रहेको छ । आज ३३ करोड १६ लाख रुपैयाँभन्दा बढीको सो ऋणपत्र कारोबार भएको छ । यसैगरी, ग्लोबल आइएमई बैंक डिबेञ्चरको साढे २८ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने नेपाल बैंक डिबेञ्चरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update