RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । नेप्से परिसूचक आज ८.५० अंक घटेर २६५१.५२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ११.०३ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update