RayNewsDaily
शेयर बजारमा उच्च गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज उच्च गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २६.१६ अंक घटेर २६७४.४८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज पनि दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । बुंगल हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक १५ प्रतिशत घटेको छ । यसैगरी, एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, सोपान फर्मास्यूटिकल्सको करिब १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update