रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.४६ अंक घटेर २७००.६५ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यी दुवै कम्पनीहरुको गत शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका हुन् । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ५ प्रतिशतले वृद्धि भएको छ । आज शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३० करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ ।
