RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला कारोबार दिनमा निरन्तर गिरावट आएको बजारमा आज भने सामान्य अंकको सुधार देखिएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ ।

नेप्से सामान्य अंकले सकारात्मक भए पनि कारोबार रकममा भने गिरावट भएको छ । हिजो ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यी दुवै बजारमा कारोबार सुरु भएका नयाँ कम्पनीहरु हुन् । यसैगरी, बुंगल हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्राइन्सटर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड १७ लाख ११ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ वटा उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update