RayNewsDaily
नेपालमै पहिलो ‘ब्याचलर अफ इन्टरनेशनल रिलेसन्स एण्ड डिप्लोमेसी’ (BIRD) कार्यक्रम शुभारम्भ

रे समाचार/काठमाण्डू । काठमाण्डूको धुम्बाराहीस्थित  काठमाण्डू विश्वविद्यालयसँग आबद्ध नेशनल कलेजले ब्याचलर अफ इन्टरनेशनल रिलेसन्स एण्ड डिप्लोमेसी (BIRD)’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। कलेजले यसलाई नेपालकै पहिलो बजारमुखी तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा केन्द्रित स्नातक तहको कार्यक्रम भएको जनाएको छ।

721297701_1426644319491515_5535160317812690621_n-1781309518.jpg
बिहीबार आयोजित उद्घाटन समारोहमा पूर्वराजदूत, परराष्ट्र मामिला विज्ञ, सुरक्षा विश्लेषक, शिक्षाविद् तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नेशनल कलेजका प्राचार्य माधवप्रसाद न्यौपानेले नेपालमा स्नातक तहमा कूटनीति अध्ययनको अभावलाई सम्बोधन गर्न BIRD कार्यक्रम सुरु गरिएको बताउनु भयो ।   

उहाँले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध केवल परराष्ट्र सेवासँग मात्र सीमित नरही अन्तर्राष्ट्रिय व्यापार, सुरक्षा, जलवायु कूटनीति तथा सांस्कृतिक आदानप्रदानसँग समेत जोडिएको उल्लेख गर्दै कार्यक्रमले विश्वस्तरका नेतृत्व क्षमता भएका युवा उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

723641491_1426644689491478_4627342193246516951_n_restored-1781309609.jpeg
कार्यक्रमकी संयोजक तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी अध्येता श्वेता कार्कीले BIRD कार्यक्रमको विशेषता नेपाल केन्द्रित अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिरहेको बताउनु भयो । कार्कीका अनुसार विद्यार्थीहरूले केवल पश्चिमा सिद्धान्त अध्ययन मात्र नगरी नेपालजस्तो भूराजनीतिक दृष्टिले संवेदनशील राष्ट्रले अन्तर्राष्ट्रिय परिवेशमा कसरी आफ्नो भूमिका निर्वाह गर्छ भन्ने विषयमा व्यावहारिक अध्ययन गर्नेछन्।

उहाँले कार्यक्रममार्फत अन्तरसांस्कृतिक संवाद, द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय वार्ता, कूटनीतिक सीप तथा परराष्ट्र सेवामा आवश्यक दक्षता विकास गरिने जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा BIRD विषय समितिका अध्यक्ष तथा पूर्वकूटनीतिज्ञ डा. दिनेश भट्टराई, परराष्ट्र मामिला विज्ञ डा. निश्चलनाथ पाण्डे तथा अवकाशप्राप्त सहायक रथी डा. पूर्णबहादुर सिलवालले शुभकामना मन्तव्य दिनुभएको थियो । वक्ताहरूले नेपालमा संस्थागत कूटनीतिक शिक्षाको आवश्यकता औंल्याउँदै कार्यक्रमको प्रशंसा गरेका थिए।

समारोहका विशिष्ट अतिथि नेपालका लागि पूर्वअमेरिकी राजदूत तथा परराष्ट्र नीति विज्ञ प्रा. डा. श्रीधर खत्री र प्रमुख अतिथि काठमाण्डू  विश्वविद्यालय स्कुल अफ आर्ट्सका पूर्वडिन प्रा. महेश बाँस्कोटाले पनि कार्यक्रमले नेपालको उच्च शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । 

कलेजका अध्यक्ष डा. बद्री देव पाण्डेयले धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमपछि विद्यार्थी, कूटनीतिज्ञ तथा सरकारी अधिकारीहरूबीच अन्तरक्रियात्मक नेटवर्किङ सत्रसमेत आयोजना गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update