रे समाचार\काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ८.१४ अंक घटेर २७२८.९३ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्ताकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक १३.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सिटी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ६३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, सेन्ट्रल फाइनान्सको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने बुंगल हाइड्रोको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
