रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक आज २.५७ अंक बढेर २७३६.१७ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशतले बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ । प्रभु बैंक डिबेञ्चरको मूल्य भने आज सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ४१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने सिटी होटलको करिब साढे १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।
