गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ ।
कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ । दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई मुख्य पेसा बनाएको बताउनुभयो । श्रेष्ठले घट्टमा अन्न पिसेबापत अन्न भए एक पाथी बराबर पाँच मुठी र पैसा भए एक पाथी पिसेको रु दश लिँदै आउनुभएको छ ।
“तीस वर्षअघि आफैँले स्थापना गरेको पानीघट्ट अझै चलाउँदैछु, घर खर्च र आफूलाई पुग्ने अन्न घट्टबाटै आउँछ, पहिला खरले छाएको थियो, अहिले जस्ताले छाएको छु, मकैका लागि छुट्टै र गहुँ र कोदोका लागि छुट्टै घट्ट छ”, श्रेष्ठले भन्नुभयो ।
उमेर ढल्किँदै गए पनि परम्परागत पेसालाई निरन्तरता दिइरहेको श्रेष्ठको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान समयमा पनि ग्रामीण भेगमा अझै पानी घट्ट जस्ता पुराना प्रविधिहरू जीवनयापनको आधार बनेको पाइन्छ । पानीलाई पाइप वा काठको ढुङ्ग्रोबाट खसालेर पानीको गतिले घट्टको जाँतो घुमाएर अन्न पिस्ने कार्यलाई पानी घट्टका रुपमा लिइने गरेको छ । रासस
