RayNewsDaily
सरकारलाई देउवाको चेतावनी : लोकतन्त्र कमजोर पार्ने कदम स्वीकार्य हुँदैन
  • लोकतन्त्र, संविधान र स्वतन्त्र संस्थामाथि दबाब स्वीकार्य नहुने भन्दै देउवाले सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न आग्रह गर्नुभएको छ ।
  • राजनीतिक प्रतिशोध, राज्यशक्तिको दुरुपयोग र विपक्षीमाथिको दबाबप्रति चिन्ता व्यक्त गर्दै उहाँले स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायको स्वायत्तता जोगाउनुपर्ने बताउनुभएको छ ।
  • देशलाई विभाजन होइन, एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले निष्पक्ष जनादेशको सम्मान गर्दै लोकतान्त्रिक पद्धतिमार्फत राष्ट्र निर्माणमा अघि बढ्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

रे समाचार/काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र स्वतन्त्र संस्थामाथि दबाब सिर्जना गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउनुभएको छ । जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा सोमबार जारी दुई पृष्ठ लामो सन्देशमा उहाँले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षामा कांग्रेस दृढ रहने उल्लेख गर्नुभएको हो ।

उहाँले बिपी कोइरालाले अघि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचार आज पनि नेपाली राजनीतिका लागि मार्गदर्शक रहेको उल्लेख गर्नुभएको छ । बिपीको नेतृत्वमा राजनीति सुरु गर्ने अवसर पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक मूल्य, जनताको अधिकार र संवैधानिक शासनका पक्षमा आफू निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ ।

देउवाले पछिल्ला केही महिनादेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो ध्यान नेपालको राजनीतिक घटनाक्रममै केन्द्रित रहेको उल्लेख गर्नुभएको छ । फरक विचारप्रति असहिष्णुता, राज्यशक्तिको दुरुपयोग, राजनीतिक प्रतिशोध तथा विपक्षीमाथि मानसिक र भौतिक दबाब सिर्जना गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ ।

Deuba1-1784642328.jpgDeuba2-1784642328.jpg

उहाँले स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय र लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको दाबी गर्दै यस्ता संस्थालाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसको भूमिका प्रतिपक्षमा सीमित नरही लोकतन्त्र, संविधान, राष्ट्रियता र आम नागरिकको सुरक्षाको रक्षा गर्नु पनि भएको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले जनमत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै निष्पक्ष निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । लोकतन्त्रलाई बलियो बनाउन प्रतिपक्षले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने प्रतिबद्धता पनि उहाँले दोहोर्‍याउनुभएको छ ।

देउवाले वर्तमान परिस्थितिमा देशलाई विभाजन होइन, एकता आवश्यक रहेको उल्लेख गर्दै अविश्वास होइन विश्वास, प्रतिशोध होइन सहकार्यको राजनीतिमार्फत राष्ट्र निर्माणमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । परिवर्तनको ऊर्जा, नयाँ पुस्ताको सिर्जनशीलता र सबै राजनीतिक शक्तिबीच सहकार्यबाट मात्रै मुलुकले निकास पाउने उहाँको भनाइ छ ।

सन्देशको अन्त्यमा उहाँले नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रिय एकता र संवैधानिक शासनप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै स्वदेश फर्किएपछि पुनः सक्रिय राजनीतिक भूमिकामा रहने संकेत गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update