काठमाण्डू । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुईवटा समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। आइतबार राति भएको घटनामा प्रहरी निरीक्षकसहित १६ जना घाइते भएका छन्।
गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको एक समूह र रातिको समयमा डिजे बजाएर होहल्ला गरेको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा झडपमा परिणत भएको बताइएको छ।
झडप हिंसात्मक बनेपछि कप्तानगञ्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ।
घटनामा घाइते भएका सर्वसाधारणको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल र नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर पाँच वटा टाँका लगाइएको छ भने अन्य सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
घटनापछि सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनु परेको निष्कर्ष निकालेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्राप्त पछिल्लो समाचार अनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाका चारवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान १ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी हरिनगर बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार र घुस्की बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो। रेडियो नेपाल
