रे समाचार/काठमाण्डू । नेपाली पर्यटन व्यवसायीसहित पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिलाई लक्षित गर्दै “नेपाली पर्यटन व्यवसायीका लागि आठौं चरणको चिनियाँ भाषा तालिम” सुरु भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा सञ्चालन हुन लागेको सो तालिमको नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उद्घाटन गर्नुभएको हो ।
उक्त तालिमको सह-आयोजक नेपाल पर्यटन बोर्ड र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् रहेका छन् । तालिमको उद्घाटन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीन-नेपाल पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको मैत्री भावनालाई अझै व्यवहारमा उतार्दै आपसी सम्बन्धमा तालिमले चीन-नेपाल साझा भविष्य समुदाय निर्माणमा थप महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले भाषा व्यक्ति र संस्कृतिबीचको पुल भएको हुँँदा यसले आपसी समझदारी र सञ्जाल विस्तार गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले चिनियाँ भाषा सिक्नेहरू सांस्कृतिक दूतको भूमिकामा रहने र यसले नेपाल चीनबीच सेतुको काम गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश चन्द्र शाहले भाषा प्रशिक्षण ६ महिनासम्म सञ्चालन हुने जानकारी दिनुभयो । शाहले भाषा सिकाई संस्कृतिको पनि सिकाई भएको र संस्कृतिले जनजिवनलाई जोड्ने हुँँदा यस कार्यक्रमले चीन र नेपालविचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन क्षेत्रमा चिनियाँ भाषाको बढ्दो आवश्यकता र चिनियाँ पर्यटकसँग प्रभावकारी संवाद स्थापित गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमअन्तर्गत अहिलेसम्म ७ वटा व्याचमार्फत करिब ३ सय पर्यटन पेशाकर्मीले प्रशिक्षण प्राप्त गरिसकेका परिषद्का सचिव दिलिप आचार्यले जानकारी दिनुभयो ।
